नेचासल्यानमा कवि मुक्तिनाथ साहित्य सम्मान तथा खुला कविता प्रतियोगिता सम्पन्न



सुबास भण्डारी,११ कार्तिक । सोलुखुम्बु जिल्लाकै प्रथम कवि स्वर्गीय मुक्तिनाथ कट्टेलको स्मृतिमा कवि मुक्तिनाथ स्मृति साहित्य कोषद्वारा आयोजित साहित्य सम्मान तथा खुला कविता प्रतियोगिता नेचासल्यानमा सम्पन्न भएको छ।

गाउँपालिकाको वडा नं–४ स्थित चेतना विस्तार पुस्तकालयकाे भवनमा सोमबार आयोजित कार्यक्रममा नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएकी साहित्यकार डा. रेणुका सोलुलाई विशेष सम्मान प्रदान गरिनुका साथै खुला कविता प्रतियोगिता समेत आयोजना गरिएको थियो।

खुला कविता प्रतियोगितामा जेवि राई जिज्ञासु प्रथम,उषा शर्मा द्वितीय,पदम भट्टराई र सुजन शर्मा तृतीय र प्रज्ञा कट्टेलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने राईलाई नगद ४ हजार,द्वीतिय शर्मालाई ३ हजार,तृतीय स्थान प्राप्त गर्ने भट्टराई र शर्मालाई जनही २ हजार र सान्त्वना कट्टेललाई १०० सहित सहभागी प्रतियोगी आठ जनालाई जनही ५०० नगदसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसैगरी ‘मुक्तिनाथ साहित्य सम्मान’प्राप्त गरेकी रेणुकालाई नगद ८ हजार ८ सय अठचालीस र सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईकाे प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा कवि कट्टेलका माईली छाेरीका नाति नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य टंक दाहाल साहित्यकार हरि कटेल,साहित्यकार लोचन कुमार शर्मा,श्री केदार माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एवं सोलुखुम्बुका विशिष्ट शैक्षिक व्यक्तित्व एकराज शर्मा, वडा नं. ४ का वडाध्यक्ष ईन्द्रबहादुर राई,बालकुमार जमरकट्टेलले कुमार कटेल,बिष्णु प्रसाद बास्तोला,दिब्यराज कटेल लगायतको उपस्थिति रहेको थियो।परिवारकै सदस्य समेत रहेका बाल कुमारले कवि मुक्तिनाथ कटेलकाे जीवनी प्रस्तुत गर्नुभएको थियोे भने दाहालले स्वागत मन्तव्य राख्नुभएको थियोे ।

कार्यक्रम कृष्णप्रसाद कटेल (कवि स्व.मुक्तिनाथ कटेलका माईला छोरा) को सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जालपा आधारभूत विद्यालयका प्रधानाध्यापक रोहित बास्तोलाले गर्नुभएको थियो । अमेरिकाको वेस्टर्न क्यारोलिना युनिभर्सिटीमा प्राध्यापनरत डा.थोमस बास्तोलाले अनलाइनमार्फत शुभकामना मन्तव्य प्रदान गर्नुभएको थियो।

उक्त साहित्यिक समारोहले कवि मुक्तिनाथ कटेलको योगदानलाई सम्झना गर्दै सोलुखुम्बुको साहित्यिक वातावरणलाई अझ सशक्त र प्रेरणादायी बनाएको सहभागीहरूले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्