भारतमा आयोजित ग्लोबल समिटमा गायक आनन्द कार्कीलाई अन्तर्राष्ट्रिय सम्मान
काठमाडौं,६ कार्तिक । गायक आनन्द कार्की अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । गायक कार्कीलाई नेपाली तथा अन्य भाषामा विगत चार दशकदेखि गीत गाउँदै विशेष योगदान पुर्याएको भन्दै शान्तिवन, भारतमा आयोजित ग्लोबल समिट–२०२५ मा गायक आनन्द कार्कीको गायन योगदानको कदर स्वरुप उनलाई सम्मानित गरिएको हो ।

भारतका विभिन्न विशिष्ट व्यक्तिसँगै नेपालबाट उक्त समिटलाई गायक कार्कीलाई सम्मानित गरिएको हो । शुभ दिपावली पर्वको अवसर पारेर आयोजना गरिएको उक्त समिटमा आनन्द कार्कीसँगै अन्य विभिन्न श्रष्टा पनि सम्मानित भएका छन् ।
विश्वभरका नेताहरू, कलाकारहरू र चिन्तकहरूको बीचमा गरिएको यो सम्मानले आफूलाई गर्वको अनुभूति भएको गायक आनन्द कार्कीले बताएका छन् । गायक आनन्द कार्कीले विभिन्न देशमा सम्पन्न सांगीतिक कन्सर्टहरुमा प्रस्तुत गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली गीत संगीतलाई पुर्याएका छन् । उनले भारतमा पनि कैयौँ सांगीतिक कार्यक्रममा आफ्ना गीत संगीत प्रस्तुत गरिसकेका छन् ।
यही योगदानको कदर स्वरुप ग्लोबल समिट सम्मानबाट आयोजक पक्षले उनलाई सम्मानित गरेको हो । सम्मान ग्रहणपछि काठमाडौं फर्किएका अग्रज गायक आनन्द कार्कीले यो सम्मान प्रति खुसी व्यक्त गर्दै भनेका छन्– ‘आयोजक संस्था र सम्पूर्ण टिमप्रति हार्दिक आभार सहित गहिरो सद्भभाव व्यक्त गर्दछु । सम्पूर्ण दर्शक स्रोताहरुको माया र साथले यो सम्मान पाउन सफल भएको छु ।’

