खड्कालाई कांग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी
काठमाडौं,काठमाडौं २८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई मंगलबारदेखि नै लागू हुने गरी कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

देउवाले केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको बताएका हुन् ।
उनले खड्कालाई कार्यवाहक सभापति बनाएर आफू थप उपचारका लागि सिंगापुर जान लागेको जानकारी बैठकमा गराएका थिए ।
सम्बोधनका क्रममा देउवाले असंवैधानिक रुपमा संसद् विघटन गरिएको आरोप लगाउँदै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले दलहरूसँग सहकार्य गर्न नचाहेको देखिएको बताएक थिए ।
जेन-जी आन्दोलनका क्रममा कुटपिट हुँदा टाउकोको पछाडि १२ टाँका लगाएर उपचार गरिएका देउवाले पहिलो पटक सार्वजनिक हुँदा आफूले गरेका कामको फेहरिस्त सुनाए ।

