नयाँ पुस्तासँग समेत संवाद गरेर संविधान संशोधनको बाटो खोज्नुपर्छ : कांग्रेस नेता भण्डारी
काठमाडौँ,२८ असोज । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले सबै राजनीतिक दलहरूले नयाँ पुस्तासँग समेत संवाद गरेर संविधान संशोधनको बाटो खोज्नुपर्ने धारणा राखेका छन्।

मंगलबार सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता भण्डारीले मुलुक हाल राजनीतिक संकट र संवैधानिक विचलनको अवस्थाबाट गुज्रिरहेको भन्दै सो धारणा व्यक्त गरेका हुन्।नेता भण्डारीले संविधानको रक्षा र नागरिक अधिकारको संस्थागत सुनिश्चितता आवश्यक रहेको उल्लेख गर्दै भने संविधान विचलित भएको अवस्थामा त्यसलाई पुनः सुदृढ बनाउन सबै दलहरू र जेन–जी पुस्तासँग सल्लाह आवश्यक रहेको बताए।
अहिलेको संवैधानिक समस्याबाट बाहिर निस्कन काँग्रेसको केन्द्रीय समितिले ठोस निर्णय लिनु आवश्यक रहेको बताउंदै भण्डारीले भने, “नेपाली कांग्रेसको इतिहासले सधैं मुलुक, लोकतन्त्र र जनताको पक्षमा निर्णय गरेको छ। अहिले पनि ती तीन वटै पक्षलाई सन्तुलित रूपमा व्यवस्थापन गर्दै पार्टीलाई अगाडि बढाउन जरुरी छ।”
उनले पार्टीको केन्द्रीय समिति बैठकले नियमित वा विशेष महाधिवेशनबारे टुंगो लगाउने र नेतृत्व हस्तान्तरणबारे समेत निर्णय गर्ने जानकारी दिए। उनका अनुसार, सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्ने संकेत गरिसकेका कारण अब पार्टीमा स्वाभाविक रूपमा नेतृत्व परिवर्तन हुने अपेक्षा गर्न सकिन्छ।

