मंसिर १८ गतेभन्दा अगाडि नै महाधिवेशनको मिति लिङ्देनलाई असन्तुष्ट समूहको अल्टिमेटम



काठमाडौं, २६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट समूहले मंसिर १८ गतेभन्दा अगाडि नै महाधिवेशनको मिति तोकिसक्न पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई अल्टिमेटम दिएको छ।

काठमाडौँमा आइतबार बसेको असन्तुष्ट समूहको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री डा. धवल शमशेर जबराले मंसिर १८ भित्र महाधिवेशनको मिति तोकिसक्न अल्टिमेटम दिएका हुन्।

महामन्त्री जबराले महाधिवेशन गर्न दबाब दिने उद्देश्यले बैठक बोलाएका थिए। उनले वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल मंसिरको १८ गते सकिने भएकोले सो भन्दा अगाडि नै महाधिवेशनको मिति तोक्नुपर्ने बताए।

मंसिरमा महाधिवेशन नगरे वर्तमान कार्यसमिति अवैध हुने उनको भनाइ छ। आइतबार बसेको भेलाले महाधिवेशनको मिति तोक्नुपर्ने, कारबाहीमा परेकाहरुको कारबाही फुकुवा हुनुपर्ने र पार्टीमा एकता कायम गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिए।

भेलाले देशमा भइरहेको वर्तमान परिस्थितिमा पार्टीको एजेण्डालाई अगाडि सार्नुपर्नेमा पनि जोड दिएको उनको भनाइ छ। संघीयता र गणतन्त्र खारेज गरेर देशलाई राजसंस्थासहितको हिन्दुराज्य बनाउनुपर्ने मागलाई अगाडि लिएर जानुपर्ने उनले बताए।

राप्रपाको नियमित महाधिवेशन आउँदो मंसिरमा गरिसक्नुपर्नेछ। महाधिवेशन गर्नको लागि केन्द्रीय समितिको बैठक बोलाउन महामन्त्री जबराको समूहले दबाब दिन थालेको हो। पार्टीको केन्द्रीय समितिको बैठक गत माघदेखि बस्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्