असोज १८ र १९ गतेको बर्षाले सोलुखुम्बुमा झण्डै ९ करोडको क्षति, कोशीका अन्य जिल्लामा कति ?
विराटनगर,२३ असोज । असोज १८ र १९ गतेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट सोलुखुम्बुमा ८ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको कोशी प्रदेश सरकारले जनाएको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयले प्रदेश सरकारले बनाएका सडक, पूर्वाधार तथा खानेपानी आयोजनाहरु गरेर २ अर्ब ६ करोड बढीको क्षति भएको
तथ्याङ्क सार्वजनिक गर्दै सोलुखुम्बुमा ८ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको जनाएको हो।
तथ्याङ्क अनुसार १८ र १९ गतेको अविरल बर्षाले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका आयोजना मात्रै १ अर्ब ९८ करोड बराबरको क्षति भएको छ भने ऊर्जा,खानेपानी तथा सिँचाइ मन्त्रालय अन्तर्गतका ८ करोड रुपैयाँ बढीको आयोजनामा क्षति पुगेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईका अनुसार पूर्वाधार विकास कार्यालय इलाम अन्तर्गत मात्रै सडक बगाउँदा १९ करोड बराबर क्षति भएको अनुमान छ । यस्तै झापामा १ करोड ५० लाख बराबरको क्षति भएको छ । सबैभन्दा बढी इलामका सडक पुलमात्रै ३८ करोड ५० लाख बराबरको क्षति भएको छ ।
सङ्खुवासभामा सडक, सडक पुल र भवन गरेर २ करोड ६५ लाख, तेह्रथुममा २ करोड ४० लाख, उदयपुरमा १५ लाख, खोटाङमा ४५ लाख, ग्रामीण सडक सुधार परियोजना (आरसिआइपी) अन्तर्गत ८० लाख ५० हजार, ताप्लेजुङमा ४ करोड ७५ लाख, पाँचथरमा सडक मात्रै ३२ करोड र सडक पुल १० करोड बराबरको क्षति भएको छ । यस्तै ओखलढुंगामा सडक तथा सडक पुल गरेर ११ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको आकलन छ ।
यसैगरी मोरङमा ५ करोड २० लाख, भोजपुरमा ४४ लाख र धनकुटामा २ करोड ५ लाख गरी सडक तथा सडक पुल गरेर १ अर्ब ९८ करोड ७० लाख रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख छ ।
हालसम्म ७३ वटा सडकमध्ये ४४ वटा सडक अवरुद्ध भएको र २९ वटामा आंशिक क्षति भएको जनाइएको छ । यस्तै २३ वटा सडकपूलमध्ये १२ वटा पूर्ण क्षति भएको र ११ वटामा आंशिक क्षति भएको छ । २९ वटा झोलुङ्गे पुलमध्ये २० वटा पूर्ण रूपमा क्षतिग्रस्त बनेको मन्त्रालयले जनाएको छ । ९ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ भने ३ वटा भवनमा आंशिक क्षति पुगेको जनाइएको छ ।
खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव प्रदीप वान्तवाले दिएको प्रारम्भिक तथ्याङ्क अनुसार जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय इलाम अन्तर्गत ३ करोड ७६ लाख बराबरको खानेपानी र सिँचाइ आयोजनामा क्षति पुगेको छ । यस्तै कन्काई सिँचाइ व्यवस्थापन कार्यालय झापामा १ करोड ४५ लाख, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाँचथरमा २ करोड ८१ लाख १० हजार बराबरको भौतिक क्षति भएको जनाइएको छ । सो मन्त्रालयका अनुसार ९९ वटा विभिन्न खानेपानीका र सिंचाईका आयोजनाहरूमा क्षति भएको छ ।

