फागुन २१ मा हुने निर्बाचनको कार्यतालिका सार्बजनिक,मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गरि सक्नुपर्ने
काठमाडौं,२० असोज । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा चुनावको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगको सोमबारको बैठकले कार्यतालिका स्वीकृत गर्दै मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको जनाएको छ ।
माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र प्रचारप्रसार निषेधको अवधि रहने आयोगको विज्ञप्तिमा उल्लेख छ ।
फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ हुने कार्यक्रम छ ।
साथै, समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
आयोगकाअनुसार निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले कात्तिक ३० अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ ।

