क्षतविक्षत भएको वीपी राजमार्ग बन्न झण्डै एकहप्ता लाग्ने



काठमाडौँ,१९ असोज । सडक विभागका महानिर्देशक विजय जैसीले वीपी राजमार्ग बन्न सात दिन लाग्ने बताएका छन् ।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग अन्तर्गत नेपालथोक–भकुण्डेवेशी खण्ड पूर्ण रुपमा ठप्प भएको जानकारी दिंदै महानिर्देशक जैसीले आइतबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन्।

सडक खण्डअन्तर्गत पर्ने विभिन्न एक दर्जनभन्दा बढी स्थानमा रोशीमा आएको बाढीका कारण सडक बगाउँदा क्षतविक्षत भएको छ। गत असोज ११ र १२ गते आएको बाढीले बगाउँदा क्षति भएको सडकमा अस्थायी ट्रयाक निर्माण गरेर यातायातका साधन सञ्चालन गरिँदै आएको थियो।

तर, दुई दिनदेखि परेको वर्षासँगै रोशी खोलामा आएको बाढीले अस्थायी ट्रयाक पुनः पूर्ण रूपमा बगाएको छ । सुवेदीका अनुसार बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी- १ गजुली दहमा सडकको माथिबाट ढुङ्गा,माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ। यस्तै सुनकोशी १ कै नेपालथोक, घ्याम्पे खोलामा रोशीको बाढीले आइतबार २ सय ५० मिटरबढी सडक बगाएको छ।

महानिर्देशक जैसीले खोलामा पानीको बहाव बढी रहेको र पानी काम हुने बित्तिकै खोल्ने तयारी गरिएको जानकारी दिए । ‘आज बाट नै काम सुरु भएको छ । गत वर्षकै जस्तो बाढीले सडक कटान गरेकाले केहि समय लाग्न सक्छ ।’ महानिर्देशक जैसीले पत्रकार सम्मेलनमा भने ।

प्रतिक्रिया दिनुहोस्