काठमाडौं उपत्यकाको मौसममा सुधार,सुरु भए आन्तरिक उडान
काठमाडौं,१९ असोज । काठमाडौं उपत्यकाको मौसममा सुधार आएसंगै त्रिभुवन विमानस्थल आन्तरिक हवाई उडान आइतबार बिहानैबाट सुरु भएको छ ।

देशैभर अविरल बर्षा भएपछि शनिबार बन्द रहेको आन्तरिक उडान मौसम अनुकूल रहेका स्थानमा बिहानैबाट सुरु भएको हो।त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ ।
पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको भन्ने आएपछि आन्तरिक उडान सुरु गरिएको कार्यालयले जनाएको छ ।अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित छ ।
मौसमविदहरुले अब काठमाडौं उपत्यकामा ठूलो पानी पर्ने सम्भावना नरहेको बताएका छन् । उपत्यकामा बिहानैदेखि मधुरो घाम लाग्न थालेपछि वर्षा र बाढीका कारण विस्थापित भएकाहरु पनि आ–आफ्नो घरमा फर्किन थालेका छन् ।
हिजो बागमती नदीको सतह बढ्दा सुकुम्बासी बस्तीतिरका बासिन्दा विस्थापित भएका थिए । बल्खु,कुलेश्वर लगायत क्षेत्रका तरकारी बजारबाट पनि सामान सारिएको थियो । सुरक्षाकर्मीहरु अहिले पनि उद्धार र सरसफाइमा जुटेका छन् ।

