पाँचथर लगायत देशका विभिन्न स्थानमा दुर्घटना हुँदा पछिल्लो २४ घण्टामा १३ जनाको मृत्युु



काठमाडौं,१८ असोज ।पांँचथर लगायत देशका विभिन्न स्थानमा दुर्घटना हुँदा पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका–३ कार्तिकेस्थित तमोर करिडोर सडक खण्डमा शनिबार दिउँसो ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे.१ ज ३०५५ नम्बरको बोलेरो गाडी सडकबाट करिब ३०० मिटर तल खस्दा ३ पुरुष र ३ महिला गरी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका ६ जनामध्ये ५ जनालाई धरान र १ जनालाई फिदिम अस्पताल पठाइएको छ।

काठमाडौंको टोखा नगरपालिका–३ शेर्पा पेट्रोल पम्प नजिक शुक्रबार राति मोटरसाइकल (बा.प्र–०२–०४९ प ०१९४) दुर्घटना हुँदा चालक ३२ वर्षीय सुरेश डंगोलको उपचारको क्रममा ग्रेन्डी अस्पतालमा मृत्यु भएको छ।

दोलखाको कालिन्चोक गाउँपालिका–९ सुन्द्रावतीमा बोलेरो (बा.प्र.०१–०२६ च ०८३६) बाट खस्दा ३० वर्षीय सरोज दाहालको मृत्यु भएको छ। दुर्घटनापछि गम्भीर घाइते भएका दाहालको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

मोरङको उर्लाबारी नगरपालिका–९ भोटेपुलस्थित सडकमा शुक्रबार राति स्कुटर (प्रदेश १–०२–०५७ प ६०९०) दुर्घटना हुँदा चालक ४२ वर्षीय प्रेम राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सप्तरीको तिरहुत गाउँपालिका–१ धनपुरीस्थित सडकमा हाइस (बा.प्र.०३–००१ ख २५८२) को ठक्करबाट ७५ वर्षीया जगिया देवी सुढी पंजियारको मृत्यु भएको छ। उनलाई विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत घोषित गरिएको हो। हाइस चालक प्रहरी नियन्त्रणमा छन्।

धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा शुक्रबार राति मोटरसाइकल (म.प्र.०२–००७ प ९९८२) दुर्घटनामा चालक २३ वर्षीय सन्तोष महतोको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासमा शनिबार बिहान बस (ना.१ ख ५७०३) दुर्घटनामा १८ वर्षीया सरस्वती खड्काको मृत्यु भएको छ। घाइते २४ जनामध्ये केहीको बुटवलका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बस चालक फरार छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा शनिबार दिउँसो बस (ग.२ ख १९०७) को ठक्करबाट ६० वर्षीय गणेश शाहीको मृत्यु भएको छ। उक्त बस दुर्घटनामा अन्य २० जना घाइते भएका छन्, जसको उपचार धनगढीका विभिन्न अस्पतालहरूमा भइरहेको छ। बस चालक फरार छन्।

प्रहरीका अनुसार सबै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्