कार्यालय प्रमुखहरूलाई तत्काल कार्यालयमा हाजिर हुन सरकारको निर्देशन
काठमाडौं,१८ असोज । सरकारल सबै जिल्लाका कार्यालय प्रमुखहरूलाई तत्काल कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरेकाले
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यालय प्रमुखहरू तत्काल जिम्मेवारीमा फर्कनु निर्देशन दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले आफ्ना मातहतका सबै जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ सम्म अनिवार्य कार्यस्थलमा उपस्थित हुने व्यवस्था मिलाउन भनेको छ ।
मन्त्रालयले सबै जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासनिक अधिकृतहरूलाई पनि सतर्कता अपनाउन, पूर्वतयारी तथा प्रतिकार्यका काममा जुट्न निर्देशन कार्यान्वयन गर्न भनेको छ।
मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेद्वारा जारी सूचनामा भनिएको छ, ‘आगामी दिनहरूमा वर्षाको जोखिम रहेकाले सबै निकायहरू सतर्क रहनुका साथै सम्भावित प्राकृतिक विपद्का प्रभाव कम गर्न अग्रिम तयारी र तत्कालीन प्रतिकार्यमा जुट्न आवश्यक छ।’
मन्त्रालयले वर्षाको कारण बाढी, पहिरो र सडक अवरुद्ध हुने सम्भावना रहेकाले जनतालाई पनि सुरक्षित स्थानमा रहन र सरकारी सूचनाको पालना गर्न आग्रह गरेको छ।

