दुई महिनामा १२ करोड ८० लाख ६२ हजार रुपैयाँ बराबरको तास आयात



काठमाडौं,१६ असोज । दसैँलाई लक्षित गरेर चालु आर्थिक वर्ष २०८२ र ०८३ को पहिलो दुई महिनामा १२ करोड ८० लाख ६२ हजार रुपैयाँ बराबरको तास आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ३ करोड ७९ लाख ६३ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो । उक्त तास आयातबाट सरकारले २ करोड बढी राजस्व संकलन गरेको थियो । तर दसैँमा धेरै तास खपत हुने गरेकाले भदौमा मात्रै ९ करोड ९ लाख ९ हजार रुपैयाँ बराबरको तास आयात भएको छ । उक्त तास आयातबाट सरकारले भदौमा मात्रै ५ करोड बढीको राजस्व संकलन गरेको छ ।

तर गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड ३८ लाख ५९ हजार रुपैयाँको तास आयात भएको थियो । साउनमा २ करोड २६ लाख ९५ हजार र भदौमा ६ करोड ११ लाख ६४ हजार गरी दुई महिनामा ८ करोड ३८ लाख ५९ हजार रुपैयाँको तास आयात भएको थियो । गत आर्थिक वर्षमा तास आयातबाट मात्रै दुई महिनामा ४ करोड ७४ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । चाडपर्वको बेलामा अत्यधिक माग हुने तास विभिन्न मुलुकबाट आयात हुने गर्छ । नेपालमा सबैभन्दा बढी तास चीनबाट आउने गर्छ । त्यस्तै भारत, कोरिया, कुवेत, फिलिपिन्स, कतार, साउदी अरब तथा यूएईलगायत देशहरूबाट समेत तास आयात हुने गरेका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार दशैं तिहारमा विशेषगरी रमाइलो तथा जुवाका रूपमा पैसाको लेनदेन गरी खेलिने तास आयातमा नेपालबाट करोडौँ रुपैयाँ बाहिरिने गरेको छ । आर्थिक वर्ष ०७९र८० मा २१ करोड २७ लाख ९४ हजार रुपैयाँ बराबरको एक करोड ७७ हजार नौ सय ८९ बुक तास आयात भएको थियो । त्यस्तै ०७८र७९ मा नेपालमा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँ बराबरको एक करोड ९ लाख ६० हजार ५४७ बुक तास भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस्