राष्ट्रिय अनुसन्धान विभागमा टेकेन्द्र,सीआईबीमा डा. केसी
काठमाडौं,५ असोज। देशको एकमात्रै गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख तथा मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई अनुसन्धान विभागको प्रमुखमा नियुक्त गरेको हो ।यसअघि राअविका प्रमुख हुतराज थापाले भदौ २८ भदौको राति १२ बजेबाट अनिवार्य अवकाश लिएका थिए ।
उता,प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई सरुवा गरिएको छ ।डा. केसी यसअघि प्रहरी प्रधान कार्यालय स्थित प्रदेश समन्वय विभागमा कार्यरत थिए ।
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नेतृत्व गरेका केसीले पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए । शरणार्थी प्रकरणपछि त्यसपछि उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारीबाट हटाइएको थियो । तत्कालीन सत्ता गठबन्धनको चेपुवामा परेर केसीले चुनौतीपूर्ण पोष्टिङ पाएका थिएनन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख चन्द्रकुवेर खापुङ आईजीपी बनेपछि त्यहाँ प्रमुखको पद रिक्त थियो ।

