बाँकेमा खसी किन्ने क्रममा उत्पन्न विवादले लियो एकजनाको ज्यान
काठमाडौँ,५ असोज । बाँकेमा खसी किन्ने क्रममा उत्पन्न विवादले आपसमा ढुंगा हानाहान हुँदा एकजनाको ज्यान गएको छ।

खसीको व्यापार गर्दै आएका नेपालगञ्ज उपमहानगरपालिका- ५ का ५२ वर्षीय जाबिद अली बेहना र उनकै साला अजमद अलीको समूहबीच ढुंगा हानाहान भएको थियो। एउटाले किन्न ठिक्क पारेको एउटा खसी अर्कैले उठाएपछि दुई समूहबीच झडप भएको थियो। सो क्रममा साला अजमद अलीको समूहले भिनाजु जाबिदलाई घाइते बनाएका थिए।
उनको भेरी अस्पतालमा उपचारका क्रममा हिजो दिउँसो मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। उनीहरूसँग सोधपुछ गर्न बाँकी छ।स्थानीयले उनीहरूबीच पहिलेदेखि नै घरायसी विवाद रहेको बताएका छन्।

