अझै खुलेन मुग्लिन–नारायणगढ सडकखण्ड,सयौं सवारी साधन र यात्रु अझै अलपत्र
काठमाडौं,५ असोज । संघीय राजधानी काठमाडौंलगायत स्थानबाट पूर्व–पश्चिम राजमार्गसम्म पुग्ने प्रमुख सडक मुग्लिन–नारायणगढ सडकखण्ड ३६ घण्टादेखि अवरुद्ध सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।

शुक्रबार (असोज ३) बेलुका करिब साढे ६ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेपछि अवरुद्ध सो सडक खण्डमा बिहानदेखि बेलुकासम्म पहिरो पन्छाउन टोली खटिए पनि सफल हुन नसक्दा सवारी साधन र यात्रु अलपत्र परेका हुन्। मुग्लिनतर्फबाट ढुंगा खस्ने क्रम निरन्तर भइरहेकाले निर्बाध रूपमा पहिरो हटाउन समस्या भएको सडक डिभिजनले जनाएको छ ।
आइतबार पनि बिहानदेखि पहिरो पन्छाउने कार्य थालिएको छ । ढुंगा झर्ने क्रम अझै नरोकिएको सडक डिभिजनले जनाएको छ ।
“ढुंगा झर्ने क्रम अझसम्म पनि रोकिएको छैन । अहिले बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढतर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुचारु भइसकेको जानकारी गराउँछौँ,” सडक डिभिजनले आइतबार बिहान एक सूचनामार्फत भनेको छ, “थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन कटिबद्ध रहेका छौँ ।”
पहिरो हटाएर आज बिहान १०/११ बजेसम्म बाटो खुलाउन सकिने प्रारम्भिक अनुमान छ । बर्खाको समयमा उक्त सडकमा पहिरोका कारण बेलाबेला समस्या हुने गरेको छ । तुइन खोला पुलनजिकै यो वर्ष पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ ।
-file foto

