आज पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री कार्की



काठमाडौं,२९ भदौ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री नियुक्त भएको भोलिपल्ट जेन जी आन्दोलनका घाइतेहरुलाई अस्पतालमा पुगेर भेटघाट गरेकी कार्कीले बिहान ११ बजे सिंहदरबार पुगेर कार्यभार सम्हाल्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेकाले गृह मन्त्रालयको नयाँ भवनबाट कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ। कार्कीले शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन्। त्यसै दिन पदभार ग्रहणको तयारी गरिए पनि शपथमै ढिलाइ भएपछि कार्यक्रम रोकिएको थियो ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पनि क्षति पुगेकोले कार्की निजी निवासमा बसिरहेकी छिन्।

आजै उनले सानो आकारको मन्त्री मण्डल गठन गर्ने बताइएको छ । नियुक्तिसँगै शुक्रबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने भने पनि यो रोकिएको थियो। तर जेन–जी समूहले शनिबार बिहानैदेखि मन्त्रीको छनोटका लागि भोटिङ गरिरहेका छन्। उनीहरूले भोटिङ प्रक्रियाबाटै आएकालाई मन्त्री बनाउन सिफारिस गरेका छन्। चर्चामा विभिन्न ब्यक्तिको नाम रहे पनि आधिकारिक रूपमा सार्बजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्