कैदीबन्दी भगाउन सहयोग गरेको आरोपमा एक महिलासहित १४ जना पक्राउ
पर्वत,२९ भदौ। जिल्ला कारागार पर्वतमा जेलजीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका निम्ति थुनामा रहेका बन्दीलाई भगाउन सहयोग गरेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारमा रहेका कैदीबन्दीलाई हुलहुज्जतसहित भगाएको भन्दै प्रहरीले शनिबार (भदौ २८) एक महिलासहित १४ जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामप्रसाद सापकोटाका अनुसार, कुश्मा नगरपालिकाका १२, विहादी गाउँपालिकाका एक र चितवनका एकजनालाई पक्राउ गरिएको हो । नियन्त्रणमा रहेका सबैलाई हिरासतमा राखी कारागार ऐन, २०७९ को थुनुवालाई भगाउने वा भगाउन सहयोग गर्ने उद्योगअन्तर्गत अनुसन्धान अघि बढाइएको उनले बताए । यीमध्ये केही युवा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा समेत पक्राउ परेका छन् ।
पर्वत जिल्ला कारागारबाट यही भदौ २५ गते राति १९ कैदीबन्दी फरार भएका थिए । प्रहरीले फरारमध्ये पाँच र कास्की कारागारबाट भागेका पाँच गरी १० जनालाई नियन्त्रणमा लिई पुनः कारागार चलान गरिसकेको छ ।
प्रहरी निरीक्षक सापकोटाका अनुसार, पर्वत जिल्ला कारागारबाट फरार भएका कैदीबन्दीलाई तुरुन्त जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई आत्मसमर्पण गर्न समेत आग्रह गरिएको छ । यसरी फरार रहेका व्यक्तिहरू कहीँ कतै देखेको अवस्थामा प्रहरीलाई खबर गरेर सहयोग गर्न पनि अनुरोध गरिएको छ । (सांकेतिक तस्बिर)

