एमाले र माओवादी केन्द्रसंगै नेपाल बार पनि प्रतिनिधि सभा विघटनको बिरोधमा
काठमाडौं,२८ भदौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसंगै कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले पनि प्रतिनिधिसभा विघटनप्रति बिरोध जनाएको छ । असंवैधानिक भनेको छ ।

अध्यक्ष डा. विजय प्रसाद मिश्र र महासचिव केदारप्रसाद कोइरालाले शुक्रबार राती संयुक्त विज्ञप्ति निकालेर विघटनको सिफारिस र निर्णय स्वेच्छाचारी र असंवैधानिक भन्दै त्यसले संवैधानिक सर्वोच्चता र संविधानवादमाथि समेत प्रहार भएको निष्कर्ष निकाल्दै बिरोध जबाएको हो।
अवधि नपुग्दै प्रतिनिधिसभा विघटन गर्ने अभ्यासले लोकतान्त्रिक संस्थाहरूमाथिको जनविश्वास घटाउने र मुलुकको संवैधानिक व्यवस्थाको जगलाई खतरामा पार्ने उल्लेख गर्दै बिज्ञप्तिमा कुनै पनि बाहनामा हुने पश्चगामी कदमलाई आफूले अस्विकरा गर्ने जनाएको छ ।
यस अघि नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल र नेकपा माओवादी केन्द्रले बिज्ञप्ति नै निकालेर उक्त कदमप्रति असहमति व्यक्त गरेका थिए।
शुक्रबार राती नयाँ सरकार गठनपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधि सभा विघटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन १ गते निर्बाचनको मिति घोषणा गरेका थिए।

