‘जेन जी’ आन्दोलनमा हिंसा भड्काउने माथि छानबिन गरी कारबाही गर्न सोलु कांग्रेसको माग



सोलुखुम्बु,२७ भदौ । नेपाली कांग्रेस सोलुखुम्बुले जेन जी आन्दोलनका क्रममा मुलुकमा हिंसा भड्काएर सार्वजनिक,निजि सम्पत्ति तोडफोड एवं आगजनी गरि क्षति पुऱ्याउने व्यक्ति तथा समूहलाई कानुनी कारवाही गर्न माग गरेको छ।

नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले शुक्रबार एक बिज्ञप्ति प्रकाशित गर्दै शक्तिशाली र विश्वासिलो संयन्त्रबाट छानबिन गरी सो समूहलाई कारबाही गर्न माग गरेका हुन्।

रचनात्मक र नवीन शिराबाट देशलाई सुशासनको बाटो देखाउन एक ऐतिहासिक आन्दोलनका रुपमा जेन जी आन्दोलन स्थापित हुनै लाग्दा विभिन्न स्वार्थ समुहको सुनियोजित घुसपैठबाट आन्दोलनलाई अति हिंश्रक बनाई राष्ट्रले ठुलो क्षति व्यहोर्नुपरेको सो बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

शेर्पाले जेन्जी पुस्ताले विथिति र सूचना प्रविधिको युग सुहाउँदो सामाजिक सन्जालको उपयोगको पक्षमा उठाएको आवाजप्रति पूरा समर्थन रहिआएको पनि स्पष्ट पारेका छन् ।

नेपाली नागरिकको कठिन र बलिदानीपुर्ण संघर्षका अनेक चरणबाट प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा संवैधानिक बाटोबाट मात्र सम्भव भएको उल्लेख गर्दै बिज्ञप्तिमा भनिएको छ,-‘संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूको नेतृत्वमा आन्दोलनरत पक्ष,राजनीतिक दलहरु र प्रवुद्ध नागरिक समाज एकाकार भई वार्ता र संवादका प्रक्रिया अवलम्बन गरि संक्रमणकालीन नेपाललाई संवैधानिक प्रक्रिया अवलम्बन गरि चाडै नै सकारात्मक रुपान्तरणको दिशा प्रदान गर्ने कुरामा हाम्रो पूर्ण रुपमा विश्वास रहेको छ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत निहत्था व्यक्तिहरुमाथि भएको सांघातिक हमलाप्रति घोर निन्दा र भत्सर्ना गर्दै सभापति शेर्पाद्वारा प्रकाशित सो बिज्ञप्तिमा आन्दोलनमा ज्यान गुमाउनुहुने युवाको आत्माप्रती भावपुर्ण श्रद्धान्जली, शोकाकुल परिवारमा समवेदना र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्