स्वाधीन अन्तरिम संयुक्त सरकार गठन गर्न दस कम्युनिस्ट घटकको माग
काठमाडौं,२७ भदौ। नेपाल कम्युनिष्ट पार्टी (बहुमत) – धर्मेन्द्र बास्तोला “कन्चन” सहित विभिन्न १० कम्युनिस्ट घटकका नेताहरुले
जेनजी सहितको मजदुर किसान, बुद्धिजीवी, देशभक्त, जनवादी, क्रान्तिकारी, प्रगतिशीलहरुको स्वाधीन अन्तरिम संयुक्त सरकार निर्माण
गर्न माग गरेका छन् ।

बाँस्तोलासहित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका आहुति
नेपाल कम्युनिष्ट पार्टीका बसन्त बोगटी,अखिल नेपाल कम्युनिष्ट पार्टीका नारायण शर्मा“कमलप्रसाद”,समाजवादी कम्युनिष्ट पार्टीका नेपाल का पूर्ण बहादुर सिंह “समरजंग”,श्रमिक जनता पार्टीका नेपाल दुर्गा बराइली “संघर्ष”,ग्रेटर नेपाल कम्युनिष्ट पार्टीका मुक्ति
नेकपा (बिद्रोही)का विके सिंङ नेपाली“प्रतिवाद”,नेकपा (क्रान्तिकारी)का अरुण घिसिङ र रेडफोर्स नेपालका मार्शलले शुक्रबार संयुक्त बक्तब्य जारी गर्दै वर्तमान राजनीतिक गतिरोधको अन्त्य गरी जेनजीले उठाएका वास्तविक मुद्धा सम्बोधन गर्न र नयाँ आधारमा जनताका लागि देशका बहुसंख्यक श्रमजीवी, सर्वहारा, उत्पीडित जनताको भलाई गर्ने जेनजी सहितको मजदुर किसान, बुद्धिजीवी, देशभक्त, जनवादी, क्रान्तिकारी, प्रगतिशीलहरुको स्वाधीन अन्तरिम संयुक्त सरकार निर्माण गर्न माग गरेका हुन।
उनीहरूले बक्तब्यमा भनेका छन्-सेप्टेम्बर अर्थात २०८२ भदौ २३ मा जेन–जीको पहिचानले चर्चित नवजवान युवाहरुको आह्वान र पहलकदमीमा भएको आन्दोलन देशमा विद्यमान दलाल नोकरशाही पूँजीवादी व्यवस्था, त्यसले थोपरेको भ्रष्टाचार, कुशासन, एकाधिकारवाद जस्ता निरङकुशवादी प्रवृत्तिको अन्त्य गरी राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ती, समृद्धि र स्वाधिनता स्थापना गर्न ऐतिहासिक,अद्वितिय र विशिष्ट आन्दोलनको रुपमा अघि बढेको थियो । विगत लामो समयदेखि हामी कम्युनिष्ट पार्टीहरु, विभिन्न नेपाली राजनीतिक पार्टी, संगठन, संघसंस्थाहरुले देशका यावत समस्याका अन्त्य गर्नका लागि संघर्ष गर्दा पनि सरकार अझ बढी जनविरोधी हुँदै गएपछि यसप्रकारको आन्दोलन अनिवार्य भैसकेको थियो ।
भदौ २४ गते जसरी सिंहदरबार, सर्वोच्च अदालत लगायतका सरकारी संरचना खरानी बनाईयो, राष्ट्रिय सम्पत्ति र दस्तावेज खरानी पारियो त्यो सबै हेर्दा जेन–जीको अग्रगामी नेतृत्व पश्चगामी षड्यन्त्रबाट अपहरण गरिएको स्पष्ट भयो । यो कार्वाहीले देशलाई प्रतिगमनतिर धकेलेको छ र लामो समयदेखि जनताले संघर्ष गरी प्राप्त गरेको लोकतान्त्रिक अधिकार बिरुद्ध प्रतिक्रान्ति भएको छ ।
दलाल पूँजीवादी व्यवस्थाको शोषण उत्पीडनले अत्याधिक प्रताडित जेनजी, अथवा नेपाली समाजको सबै जेनेरेशनको आवश्यकता पश्चगमन र यथास्थिति होईन, व्यापक राजनीतिक, आर्थिक र, सामाजिक पुनर्सरचना सहितको आधुनिक नेपाल निर्माण हो ।
वर्तमान राजनीतिक गतिरोधको अन्त्य गरी जेनजीले उठाएका वास्तविक मुद्धा सम्बोधन गर्न र नयाँ आधारमा जनताका लागि देशका बहुसंख्यक श्रमजीवी, सर्वहारा, उत्पीडित जनताको भलाई गर्ने जेनजी सहितको मजदुर किसान, बुद्धिजीवी, देशभक्त, जनवादी, क्रान्तिकारी, प्रगतिशीलहरुको स्वाधीन अन्तरिम संयुक्त सरकार निर्माण आवश्यक भएको छ ।
नेपाली जनताको लामो आन्दोलन खासगरी जनयुद्ध र २०६२/६३ को जनाअन्दोलनबाट प्राप्त भएका गणतन्त्रलगायतका सिमित अधिकार सहितको नागरिक सर्वोच्चता अपहरण भएको वर्तमान राजनीतिक परिस्थिति अन्त्य गर्न राजनीतिमा उदियमान नयाँ पुस्ताको नेतृत्व निरन्तर आईरहने विधि र जनताका जनवादी अधिकारहरु सुनिश्चित गर्ने नीति स्थापित गर्दै वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढ्न स्वाधीन अन्तरिम संयुक्त सरकार निर्माण गर्नका लागि देशभक्त, जनवादी, क्रान्तिकारी, शक्तिहरुमा हामी हार्दिक अपिल गर्दछौ ।

