मन्त्री क्वाटरसंगै कांग्रेस एमाले पार्टी कार्यालय क्षेत्रमा पनि निषेधाज्ञा
काठमाडौं,२३ भदौ । जिल्ला प्रशासन कार्यालय ललितपुरले उपत्यका क्षेत्रमा भइरहेको प्रदर्शनलाई मध्यनजर गर्दै संवेदनशील ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले एमाले, कांग्रेसको पार्टी कार्यालय, भैँसेपाटीस्थित मन्त्रीको नयाँ आवास क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको हाे ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार २०८२ भदौ २३ गते साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधित क्षेत्र घोषणा गरिएको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रशासनले निधेष गरेको क्षेत्रमा सभा, जुलुस, भेला, धर्ना जस्ता गतिविधि पूर्ण रूपमा प्रतिबन्धित गरिएको हो । आदेशको उल्लंघन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ ।
निषेधित क्षेत्रहरू
पुल्चोकस्थित यूएन हाउस र न्यायाधीश निवास वरिपरि २०० मिटर क्षेत्र
पूर्वतर्फ इनारमोड जाने मूलबाटो,
पश्चिम राष्ट्रिय किताबखाना (निजामती),
उत्तर आन्तरिक राजस्व कार्यालय,
दक्षिण राष्ट्रिय मानव अधिकार आयोगसम्म)
भैँसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र
पूर्वमा भैँसेपाटी–बुंगमती सडक,
पश्चिम सिजी हाउजिङ,
उत्तर भैँसेपाटी आवास गेट,
दक्षिण इटनी जाने बाटोसम्म
सानेपास्थित नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय क्षेत्र
पूर्वमा सानेपा चोक–ईन्द्रायणी मन्दिर सडक,
पश्चिममा बल्खु पुल–मनमोहन पार्क बागमती करिडोर,
उत्तरमा चक्रपथको सर्भिस लेन,
दक्षिणमा इन्द्रायणी मन्दिर–बागमती करिडोर सडकसम्म
च्यासलस्थित नेकपा (एमाले) पार्टीको केन्द्रीय कार्यालय क्षेत्र
पूर्वमा मनोहरा खोला करिडोरको झोलुंगे पुल, पश्चिममा च्यासल रंगशाला,
उत्तरमा मनोहरा खोला,
दक्षिणमा मल पोखरी जाने बाटो

