जेनजीको प्रदर्शन : एकजनाको मृत्यु,हालसम्म ७० भन्दा बढी घाइते
काठमाडौँ,२३ भदौ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक जेनजी प्रदर्शनकारीको निधन भएको छ ।

सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पताल स्रोतले मृत्युको पुष्टि गर्दै घाइते भएका ७० जनाभन्दा बढीको उपचार भइरहेको पनि जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसमध्ये दुईजना प्रहरीको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।
आन्दोलनकारीलाई रोक्ने क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर तीनजना फोटो पत्रकार घाइते भएका छन् ।
प्रहरीले चलाएको गोलीले नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना घाइते भएका छन् । उनलाई अस्पताल भर्ना गरिएको छ।
कान्तिपुर टेलिभिजनका भिडियो पत्रका श्याम श्रेष्ठ पनि घाइते भएका छन् । उता नेपाल प्रेसका उमेश कार्कीलाई पनि गोलीको छर्रा लागेको छ।

