बानेश्वरमा सेना तैनाथ, राष्ट्रपति कार्यालय,सिंहदरबार र बालुवाटारमा पनि थपियो कर्फ्यु



काठमाडौं,२३ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु लाग्ने क्षेत्र विस्तार गरेको छ ।

‘जेन जी’ पुस्ताका कारण दिउँसो नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेको कार्यालयले फेरि अर्को सूचना निकालेर शीतल निवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र,सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु लगाएको हो ।

यसअघि प्रशासनले माइतीघर,बानेश्वर,तीनकुने र शङ्खमूल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको थियो ।संसद् भवन परिसर जेनजीको कब्जा भएपछि सेना पठाइएको छ।

माइतीघर हुँदै बानेश्वर पुगेका प्रदर्शनकारी संसद भवन पसेर नाराबाजी गरिरहेका छन्।प्रहरीले नियन्त्रणमा लिन नसकिरहेका बेला सेना पठाइएको हो।

यसैबीच,काठमाडौँमा थापागाउँमा सशस्त्र प्रहरीको गाडी प्रदर्शनमा उत्रिएका जेनजीहरूले घेरा हालेर रोकिदिएका छन्। संसद् भवन आसपासको सडक जेनजीले घेरा हालेसँगै तीन गाडी सेना र दुई गाडी सशस्त्र प्रहरी गएको थियो।

यीमध्ये सशस्त्रको १ गाडीलाई जेनजीको समूहले घेरा हालेको हो। त्यसपछि उक्त गाडी थापा गाउँबाटै फर्किने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्