दुर सञ्चार प्राधिकरणलाई फेसबुक लगायत सामाजिक सञ्जाल निष्क्रिय गर्न सञ्चार मन्त्रालयको पत्र



काठमाडौं,१९ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको बैठकले यसअघि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय भएको मन्त्रालयद्वारा बिहीबार एक सूचना जारी गर्दे जानकारी दिएको हो।‘सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले अदालत अवहेलनासम्बन्धी मुद्दामा स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरू सञ्चालनपूर्व अनिवार्य सूचीकरण गर्नुपर्ने आदेश दिएपछि मन्त्रालयले यो कदम चालिएको हो’, मन्त्रालयले भनेको छ।

यसअघि मन्त्रिपरिषद्को गत भदौ ९ गतेको बैठकले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात दिनभित्र दर्ता वा सूचीकरण गर्न निर्देशन दिएको थियो।

सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। मन्त्रालयले सामाजिक सञ्जालहरूले नेपालमा दर्ताका लागि प्रक्रिया अगाडि बढाएमा क्रमशः खोलिने बताएको छ।

यसअघि सर्वोच्च अदाल‌तले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्सलगायत इन्टरनेट ब्राउजरबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउन तथा नियमनका लागि आवश्यक कानुन निर्माण गर्न सरकारलाई परमादेश जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्