आजबाट नेपाल प्रहरीको कमान्ड सम्हाल्दै खापुङ



काठमाडौं,१९ भदौ । नव नियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले आजदेखि नेपाल प्रहरीको कमान्ड सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने अघिल्लो दिन शुक्रबार बसेको मन्त्री परिषद बैठकद्वारा महानिरीक्षक नियुक्त खापुङले आजबाट प्रहरीको कमान्ड सम्हाल्न लागेका हुन। निबर्तमान प्रहरी महानिरीक्षक थापा हिजो राती १२ बजेदेखि सेवा निबृत्त भएका थिए ।
यसैबीच, थापालाई हिंजै गृह मन्त्रालयबाट बिदाई गरिएको छ । बुधबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले बिदाई गरेका हुन्।

कार्यक्रममा आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै गृहमन्त्री थापाले सेवा निवृत्त पछिको व्यवासायिक जीवनको सफलताको कामना गरेका थिए ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुव्यवस्था, अमन चयन कायम गर्ने जस्तो महत्वपूर्ण र मुख्य जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै सेवा निवृत्त जीवन अझ बढि स्वस्थ, रचनात्मक र क्रियाशील रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी जस्तो गौरवशाली तथा नागरिकको अत्यन्तै नजिक रहेको र देशको आन्तरिक सुरक्षाको मेरूदण्डको रूपमा रहेको सुरक्षा निकायको सदस्य भई देश र नागरिकको सेवा एवम् सुरक्षामा आफूलाई समर्पित गर्ने अवसर प्राप्त हुनु सौभाग्य र गौरवको विषय भएको बताउँदै आफ्नो कार्यकालको अवधिमा संविधान र प्रचलित कानूनले प्रदान गरेको जिम्मेवारी पूर्ण इमानदार रहँदै पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्