‘नेपालका जातीय सामाजिक संस्कार’ पुस्तकमा शेर्पाहरुको अपमान गरिएको शेर्पा विद्यार्थी संघको आरोप

दावा जाङ्बु शेर्पा,काठमाडौं,१६ भदौ । नेपाल शेर्पा विद्यार्थी संघले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा हालसालै प्रकाशित “नेपालका जातीय समाजिक संस्कार” पुस्तकमा शेर्पा समुदायका बिषयमा उल्लेखित शब्दावलीप्रति आपत्ति जनाएको छ।

पुस्तकमा शेर्पा समुदायलाई “राक्षसनीको सन्तान मानिन्छ” भनेर उल्लेख गरिएको भन्दै संघका अध्यक्ष फुर्वा छिरिङ शेर्पाद्वारा सोमबार जारी बिज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको गलत जानकारीले न केवल शेर्पा समुदायलाई दुःखी बनाएको छ, बरु सम्पूर्ण नेपाली समाजको पहिचान र संस्कृतिप्रति गलत बुझाइ फैलाएको छ।’
उक्त कुरा तथ्यहीन,अपमानजनक र पूर्ण रूपमा अस्वीकार्य रहेको भन्दै बिज्ञप्तिमा सम्बन्धित लेखक तथा प्रकाशकलाई तत्काल उक्त आपत्तिजनक शब्दावलीलाई सच्याउन आग्रह गरिएको छ।
भविष्यमा शेर्पा समुदाय वा इतिहाससम्बन्धी लेखाइ वा प्रकाशन गर्नुअघि नेपाल शेर्पा संघ वा सम्बन्धित आधिकारिक निकायसँग अनिवार्य रूपमा परामर्श गर्न अनुरोध गर्दै यस विषयलाई आवश्यक गम्भीरताका साथ लिइ यस्ता तथ्यहीन विवरणहरू दोहोरिन नदिने गरि उचित कदम चाल्न आग्रह गरिएको छ ।

