भदौ २५ गतेबाट अनिश्चितकालिन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने उखु किसानहरुको घोषणा
काठमाडौं,१४ भदौ ।काठमाडौंको माईतीघर मण्डलामा धर्ना र प्रदर्शन गर्दै आएका उखु किसानहरुले यही भदौ २५ गतेदेखि अनिश्चितकालिन राष्ट्रिय राजमार्ग अवरुद्ध पार्ने घोषणा गरेका छन्।

उखु उत्पादक महासंघ नेपाल र उखु उत्पादन हुने जिल्लाहरुका उखु उत्पादक संघहरुको संयुक्त बैठकले माग सम्बोधन गराउन अनिश्चितकालिन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने निर्णय गरिएको धर्नास्थल माइतीघर मण्डलामा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी उखु किसान संघर्ष समितिले जानकारी दिएको छ।
नेपाल सरकारले बदनियत पूर्ण ढङ्गबाट कटौती गरेको अनुदान रकम तत्काल भुक्तान गर्नुपर्ने तथा उखुको मुल्य तोक्दा उखु किसानको सहभागीता सुनिश्चित गर्नुपर्ने लगायतका माग राखेर १३ जिल्ला उखु किसानहरु भाद्र ८ गतेबाट आन्दोलन गरिरहेका छन्।
यस वर्ष उखु किसानहरुको अनुदान रकम भुक्तानीका लागी कृषि मन्त्रालयले २ अर्ब रुपैयाँ सरकारको बजेट किताव (रातो किताब) मा समावेश गरी सकेको अवस्थामा पनि किसानले पाउनु पर्ने अनुदान रकमलाई गैर जिम्मेबार ढङ्गबाट कटौती गरिनु अत्यन्त निन्दनीय कदम भएको उल्लेख गर्दै पत्रकार सम्मेलनमा बितरित प्रेस बिज्ञप्तिमा भनिएको छ,’कृषि मन्त्रालयले रातो किताबमा समावेश गरी सदनबाट पारित भई सकेको स्वीकृत बजेटलाई पनि कटौती गर्ने अर्थ मन्त्रालय र सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषद्को भुमिका नेपालका उँखु उत्पादक किसानलाई पलायन हुन वाध्य तुलाउन सहायक देखिन्छ।’
राजमार्गकेन्द्रित आन्दोलनको लागि संघर्ष समितिले सर्लाहीको हरिवनमा भेला हुन अपिल गरेको छ । किसानले आफूहरुको माग पूरा गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्ने भनेर हिजो नै भनिसकेको छ। प्रधानमन्त्री ओली आज पाँच दिने भ्रमणको लागि चीन गएका छन् ।

