भारत-चीन सहमतिबिरुद्ध सात कम्युनिस्ट घटकले आज प्रदर्शन गर्दै



काठमाडौं,१३ भदौ । छिमेकी मुलुक भारत र चीनबीच लिपुलेक र कालापानीबाट व्यापारीक मार्ग खोल्ने गरी भएको सहमतिको बिरोधमा आज राजधानीमा प्रदर्शन गर्ने भएका छन् ।

वसन्त संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी,दुर्गा बराईली अध्यक्ष रहेको श्रमिक जनता पार्टी, माधव गौतम स्थायी समिति सदस्य रहेको समाजवादी कम्युनिस्ट पार्टी नेपाल,मुक्ति संयोजक रहेको ग्रेटर नेपाल कम्युनिस्ट पार्टी, अरुण घिसिङ महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) प्रतिवाद प्रवक्ता रहेको नेकपा (विद्रोही ) र शम्भु कट्टेल संयोजक रहेको नयाँ जनवादी मोर्चाले बिहिवार संयुक्त रुपमा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भारत र चीनबीच लिपुलेकको व्यापारिक मार्ग प्रयोग गर्नेगरी भएको सम्झौताको विरोधमा आज प्रदर्शन गर्ने जान्दिएका हुन्।

ऐतिहासिक तथ्य,अन्तर्राष्ट्रिय नक्साका आधारमा कालापानी र लिपुलेक नेपालको अविभाज्य अङ्गहरु हुन् भन्ने कुरा प्रष्ट हुँदाहुँदै पनि भारतीय पक्षले निरन्तर हस्तक्षेप र अतिक्रमण जारी राखेको सात कम्युनिष्ट घटकहरुको भनाइ छ । ‘चीन र भारतबीच त्यस किसिमको सहमति हुनु हाम्रो राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अखण्डता माथिको रणनीतिक हस्तक्षेप, निषेध र चोटपूर्ण कदम हो,’– उनीहरुले विज्ञप्तिमार्फत भनेका छन् ।

लिपुलेकको व्याापरिक मार्ग प्रयोग गर्नेगरी भारत र चीनबीच भएको सहमतिमा उनीहरुले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमण स्थगन गरी नेपालको स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको दृढ रक्षा गर्न र अतिक्रमित भूमि अविलम्ब फिर्ता गर्न कदम चाल्न सात कम्युनिष्ट घटकहरुले माग गरेका छन् । लिपुलेकको व्यापारिक मार्ग प्रयोग गर्नेगरी भारत र चीनबीचमा भएको सहमतिको विरोध र प्रतिरोधमा उत्रिनसमेत सात कम्युनिष्ट घटकहरुले सबै समक्ष अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्