नक्कली सुनलाई सक्कली भनेर ठगी गर्ने सोलुदुधकुण्डका लाक्पा शेर्पा पक्राउ
काठमाडौं, ९ भदौ । नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका-१ टाक्सिन्दुका ३३ वर्षीय लाक्पा शेर्पा छन् । काठमाडौं महानगरपालिका-२६ गोंगबुस्थित क्वालिटी क्याफेमा अवैध सुनको खरीद बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सुन जस्तो देखिने धातु १ किलोग्राम सहित उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
उक्त सुन जस्तो देखिने धातुको परीक्षण गर्दा सुन नभई सुन जस्तो भान पारी लाक्पाले विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पारी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाई छ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

