राज्यव्यवस्था समिति सभापतिको निर्बाचन बुधबार हुने
काठमाडौं,९ भदौ । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदका निम्ति सोमबार (भदौ ९) निर्वाचन तालिका प्रकाशन गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले यही भदौ ११ गते बुधबार निर्वाचन हुने सूचना प्रकाशन गरेका हुन् ।

प्रतिनिधिसभा नियमावली १७६ को उपनियम १ बमोजिम सभामुख देवराज घिमिरेले निर्वाचनको मिति तोकेका सूचनामा जनाइएको छ ।
गएको साउन २७ गते समिति सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिएका थिए । खतिवडा नेपाली कांग्रेसका सांसद हुन् ।
निजामती विधेयकमा ‘कुलिङ अफ पिरिड’को व्यवस्था खण्डित हुनुमा सभापति ‘नैतिक जिम्मेवार’ रहेको छानबिन समितिको प्रतिवेदनसँगै उनले राजीनामा दिएका थिए । समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र चुनाव गरिसक्नुपर्ने नियमावलीमा व्यवस्था छ ।

