आत्महत्या दुरुत्साहन मुद्दामा माओवादी केन्द्रका नेतासहित ५ जना पक्राउ
तुलसीपुर,८ भदौ । तुलसीपुरका व्यापारी आत्महत्या दुरुत्साहन मुद्दामा ५ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नेकपा माओवादी केन्द्र तुलसीपुरका नगर सहइन्चार्ज चित्र बहादुर खडका (अनुपम), तुलसीपुर उपमहानगरपालिका –५ निवासी ४२ वर्षकी खुमा भन्ने राधिका वली, रुकुम घर भइ हाल तुलसीपुर– ५ निवासी ४२ वर्षका चन्द्र बहादु खडका, ४० वर्षका यादव श्रेष्ठ, तुलसीपुर –६ निवासी ४० वर्षकी नन्दा वली रहेको प्रहरी स्रोतले बताएको छ ।

उनिहरुलाई हिजो पक्राउ गरिएको हो । शुक्रबारदेखि लागु हुने गरि आज ७ दिनको म्याद थपिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका एक प्रहरी अधिकृतले जानकारी दिए । स्रोतका अनुसार सुसाइट नोटमा ८ जनाको नाम उल्लेख गरिएकोमा ५ जना पक्राउ परे पनि ३ जना फरार रहेको प्रहरीले बताएको छ ।
गएको मङ्गलबार राति आफ्नै पसलमा मृत अवस्थामा भेटिएका कालिका अडियो सेन्टरका संचालक दुर्गा भुसालले लेखेको सुसाइट नोटका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । भुसालले तुलसीपुरको घोराही रोडमा कालिका अडियो सेन्टर सञ्चालन गर्दै आउनु भएको थियो ।
मृतक भुसालले विभिन्न व्यक्तीसंग सापटी लिएर लगानी गरेको करोडौँ आर्थिक रकम समयमै असुल नभएपछि आत्महत्या गरेको भन्दै सुसाइट नोटमा ८ जनाको नाम र रकम सहित उल्लेख गरेपछि उनीहरू प्रहरीको फन्दामा परेका हुन् ।
यस अघि करिब ७ महिना अघि तुलसीपुरका व्यापारी रामबहादुर वलीले पनि आत्महत्या गर्नुभएको थियो । आत्महत्या गरेपछि करिब २० करोड रुपैयाँ ऋीण रहेको बुझीएको थियो । यस पटक पक्राउ पर्नेमा मृतक राम बहादुर वलीकी श्रीमती राधा वली पनि हुनुहुन्छ । यो समेत गरेर झण्डै एक दर्जन व्यापारीले आत्महत्या गरिसकेका छन् ।

