पूर्वमुमा बडामहारानी रत्नको शुभ जन्मोत्सवका अवसरमा ‘पृथ्वी पथ’ पुस्तक लोकार्पित
काठमाडौं । पूर्वमुमा बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहको ९८औं शुभजन्मोत्सवका अवसरमा बुधबार रोहितप्रसाद पौड्याल र लक्ष्मीकुमारी सत्यालद्वारा लिखित पुस्तक ‘पृथ्वीपथः लुकाइएको इतिहास तीस वर्ष राजा महेन्द्र र राजा वीरेन्द्र’ को लोकार्पण गरिएको छ ।

काठमाडौंको डिल्लीबजारमा रहेको भोजनगृहमा आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि वरिष्ठ अधिवक्ता विष्णु भट्टराइले पुस्तकको लोकार्पण गरेका हुन् । प्रमुख अतिथि भट्टराइले राजसंस्थाको निरन्तरताको लागि पुस्तकले उल्लेखनीय भूमिका खेल्ने बताए । पुस्तकको बारेमा समीक्षा गर्दै अधिवक्ता तथा सामाजिक अभियन्ता स्वागत नेपालले यो बेलामा यस्तो पुस्तक प्रकाशन गर्नु चुनौती भएको भन्दै थपे ‘यो पुस्तक सरकारले नै प्रकाशन गरेर विद्यार्थीलाई पढाउनुपर्ने हो ।’ नेपालले पुस्तकमा विगतको इतिहास र त्यतिबेला भएका विकासका गतिविधि समेटिएको बताए । उनले बजारमा धेरै लेखक भएको र कतिपयले भनें सत्य कुरा लुकाउन पनि पुस्तक प्रकाशन गर्ने गरेको जनाए । उनले यो पुस्तकले विगतको यथार्थ चित्रण गरेको उल्लेख गरे ।
लेखकद्वयले ‘पृथ्वीपथ’ पुस्तकमा ‘लुकाइएको इतिहास, पञ्चायतका तीस वर्ष, राजा महेन्द्र र राजा बीरेन्द्र’ लाई जोडेर ऐतिहासिक दस्तावेजलाई बाहिर ल्याएका छन् । लेखक पौड्यालले विगतमा राजाले गरेका विकास निर्माणका कतिपय तथ्यांक लुुुुुुुुुकाउने गरिएको तथ्य अध्ययनका क्रममा भेटिएको बताए । ‘राजाले गरेका विकास निर्माणका कुरालाई लुकाउन कतिपय कार्यालय र निकायमा स्थापना मिति नै उल्लेख गरिएको छैन, योभन्दा लाजमर्दो अरु के हुन सक्छ ?’ पौड्यालले भने ‘तथ्य लुकाउने र वास्तविकता ओझेलमा पार्ने काम अहिलेका शासकबाट भएकाले त्यसलाई जस्ताको त्यस्तै देखाउन यो पुस्तक प्रकाशन गरेका हौं ।’ पौड्यालले स्वर्गिय युवराज शमशेर राणाको प्रेरणाबाट आफूले पुस्तक लेख्न थालेको पनि स्पष्ट पारे । पुस्तक लेख्न प्रेरणा दिने युवराज शमशेर राणाका छोरा मनमोहन शमशेर राणालाई लेखक पौड्यालले खादा लगाएर सम्मान गरेका थिए । मनमोहन शमशेर राणा पनि राजनीतिमा नै आबद्ध छन् । लेखक पौड्यालका यसअघि अन्य पुस्तक पनि प्रकाशन भइसकेका छन् ।
पुस्तकको बारेमा समीक्षा गर्दै पत्रकार जिवराम भण्डारीले ‘पृथ्वीपथ’ नेपाल बनाउने अभियान भएको बताए । उनले तत्कालीन राजा महेन्द्रले २०१९ सालदेखि ९ वर्षसम्म गरेको शासन उदाहरणीय भएकोमा जोड दिए । उनले यथास्थितिमा मुलुक चल्न नसक्ने पनि दाबी गरे । राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष तारानाथ लुइटेलले पुस्तकले सम्पूर्ण इतिहास बोकेको र सबैको लागि ज्ञानको भण्डार भएको बताए ।
लेखिकासमेत रहेकी कार्यक्रम आयोजक सत्यालले नेपाल र नेपालीको अस्तित्व रक्षा गर्नका लागि पुस्तक प्रकाशन गरिएको बताइन् । उनले गणतन्त्र स्थापना भएपछि नेताहरुले नेपाललाई स्वीट्जरल्याण्ड बनाउँछु भनेकोमा ‘ग्रे जोन’ मा पु¥याएको भन्दै वर्तमान राजनीतिक पद्धति गलत दिशामा अघि बढेको बताइन् । उनले हिजो राजा हुँदा अन्तर्राष्ट्रिय जगतले नेपाललाई हेर्ने दृष्टिकोण सकारात्मक भएको र अत्यन्तै धेरै सम्मान गर्ने गरेको भए पनि अहिलेका नेताहरुको पहिचान अन्तर्राष्ट्रिय जगतमा पनि नांगिएको बताइन् । उनले पुस्तक प्रकाशनका क्रममा सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरिन् ।
मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहको ९८ औं शुभजन्मोत्सवका अवसरमा पुस्तक लोकार्पण गरिएको लेखकद्वयले जनाएका छन् । पृथ्वीविचारका अभियन्ता भरत बस्नेतले लोकार्पण कार्यक्रमको प्रायोजन गरेका थिए ।

