बिहे गर्ने प्रलोभन दिएर भारत पुर्याईएकी १५ बर्षीय किशोरीको उद्दार
रौतहट,३ भदौ । सामाजिक सञ्जाल टिकटकबाट चिनजान भई बिहे गर्ने प्रलोभनमा भारतसम्म पुर्याइएकी १५ वर्षीय किशोरीलाई पर्सा प्रहरीले सकुशल उद्धार गरेको छ।

गत साउन १२ गते कटहरिया नगरपालिका–४ निवासी ती किशोरीलाई २२ वर्षका युवकले ललाइफकाई मोटरसाइकलमा लगेर भारत पुर्याएको परिवारले जनाएको थियो।पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रको निर्देशनमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्स्पेक्टर प्रकाश थापाको नेतृत्वमा गरिएको प्रयासले घरबाट हराएको १८ औँ दिनमा किशोरीलाई सीमाक्षेत्रमा फेला पारिएको हो।
खोजतलास गर्ने क्रममा अभिभावकले सिसी टिभी फुटेज र टिकटकमा राखिएका फोटोमार्फत खोजी गरेपछि उनी पर्सा–पटेर्वा सुगौली गाउँपालिका–७, रघुनाथपुरसम्म पुगेको पत्ता लागेको थियो।
उद्धार गरिएकी बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाइएको छ।किशोरीलाई भगाउने युवक र उनका परिवारविरुद्ध थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

