‘नेपालका विशिष्ट महिला’शीर्षकको ऐतिहासिक फोटो प्रदर्शनीको आकर्षण बनिन् छिरिङ शेर्पा
काठमाडौं,भदौ २। सांस्कृतिक संग्रहालय नेपालले “महिलाको शक्तिलाई सम्झौँ र सम्मान गरौँ” भन्ने नारासहित आयोजना गरेको ‘नेपालका विशिष्ट महिला’शीर्षकको ऐतिहासिक फोटो प्रदर्शनी आजदेखि काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा सुरु भएको छ। प्रदर्शनी भदौ ५ गतेसम्म सञ्चालन हुनेछ।

यस प्रदर्शनीले नेपालका विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाको संघर्ष, सफलता र योगदानलाई स्मरण गराउने उद्देश्य राखेको छ। यस वर्षको प्रदर्शनीमा छिरिङ शेर्पा पनि “विशिष्ट महिला” सूचीमा समावेश गरिएको छ र उहाँको फोटो प्रमुख स्थानमा प्रदर्शन गरिएको छ। सगरमाथा आरोहण मात्र नभई “भूमिमा सबभन्दा उच्च स्थानमा कोरियोग्राफ गरिएको युगल नृत्य” प्रस्तुत गरी Guinness वर्ल्ड रेकर्डमा नाम लेखाउने विश्वकै पहिलो महिला कलाकारको रूपमा छिरिङ शेर्पालाई दर्शक तथा सहभागीहरूले उच्च सम्मानसहित सराहना गरे।
छिरिङ शेर्पा केवल साहसी आरोही र कलाकार मात्र होइनन्, उहाँले नेपाली चलचित्र क्षेत्रमा समेत सक्रिय भूमिका निभाउँदै आएका छन्। उहाँले चलचित्रमा अभिनय गर्नुका साथै १०० भन्दा बढी संगीत भिडियोमा आफ्नो बहुप्रतिभा प्रस्तुत गरिसक्नु भएको छ। यसले छिरिङ शेर्पालाई सांस्कृतिक तथा मनोरञ्जन क्षेत्रमा पनि विशिष्ट र प्रेरणादायी व्यक्तित्वको रूपमा स्थापित गरेको छ।
प्रदर्शनीका प्रमुख अतिथि उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहले छिरिङ शेर्पाको अदम्य साहस, कलात्मकता र निरन्तर परिश्रमको प्रशंसा गर्दै बधाई तथा शुभकामना दिनुभयो। उहाँले भन्नुभयो, “यस्ता व्यक्तित्वहरूको योगदानले सम्पूर्ण समाजलाई अघि बढ्ने ऊर्जा दिन्छ। महिलाको शक्ति र क्षमतालाई अझ कदर र सम्मान गर्न आवश्यक छ।”
कार्यक्रममा वरिष्ठ गायक योगेश्वर अमात्य, नेपालको पहिलो अभिनेत्री भुवन चन्दसहित विभिन्न प्रतिष्ठित व्यक्तित्व र अग्रजहरूको पनि उल्लेखनीय उपस्थिति रह्यो।
सांस्कृतिक संग्रहालय नेपालले महिलाको ऐतिहासिक योगदानलाई सम्मान गर्ने, नयाँ पुस्तालाई प्रेरणा दिने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यसहित प्रदर्शनी आयोजना गरिएको जनाएको छ।

