पाकिस्तानी दूतावासद्वारा साहित्यिक कार्यक्रम-कविता संगोष्ठीको आयोजना



काठमाडौं,६ साउन ।काठमाडौंस्थित पाकिस्तानी दूतावासले साहित्यिक कार्यक्रम-कविता संगोष्ठीको आयोजना गरेको छ ।

साहित्य एकेडेमी नेपालसँगको सहकार्यमा पाकिस्तान र नेपाल बीचको साहित्यिक सम्बन्ध उजागर गर्ने तथा सांस्कृतिक क्षेत्रको मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउने उद्देश्यले मंगलबार काठमाडौंको होटल अलफ्टमा “आलमी मुशैरा; उर्दू, शायरी की जुबान” शीर्षकको कविता संगोष्ठी आयोजना गरिएको दूतावासले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका सांसदद्वय सिराज अहमद फारुक र कल्पना मियाँको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रसिद्ध उर्दू कविहरू डा. जफर एलिग, डा. साकिब हारुनी (साहित्य एकेडेमी, नेपालका अध्यक्ष), अफजल मंगलोरी, फुरकान फैजी, मुशरफ अली खान, जाहिद आजाद झंडा नगरी, गालिब दरीब, अल्ताफ फरिफ्ता र सुश्री सपना अहसासले आफ्ना काव्यात्मक प्रस्तुति प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली चलचित्र निर्देशक तथा लेखक प्रकाश सयामीले उर्दू भाषाको विश्वव्यापिता र उर्दू कविताको गहिराइबारे प्रकाश पारेका थिए ।

बक्ताहरुले उर्दू कविहरूलाई एकै ठाउँ उभ्याएर उर्दू भाषा र साहित्यको प्रवर्द्धन गर्न पाकिस्तानी दूतावासले खेलेको भूमिकाको प्रशंसा गरेको सो कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत महामहिम अबरार एच. हाशमीले साहित्य एकेडेमी, नेपालका साथै कविहरूलाई उर्दू भाषामा योगदान पुर्‍याएकोमा धन्यवाद दिंदै नेपाल र पाकिस्तानका साहित्यिक संस्थाहरू बीचको सम्बन्धलाई मजबुत बनाउँदै साहित्यको आदानप्रदान मार्फत उर्दू र नेपाली जस्ता भाषाहरूको प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्