प्रदेश टाइम्सका सम्पादक यादवमाथि ज्यान मार्ने धम्की र दुर्व्यवहार, पत्रकार महासंघद्वारा घोर भर्त्सना



सिराहा,५ साउन । प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक रामपुकार यादवमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ सिराहा जिल्ला शाखाले ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्लाको विष्णुपुर गाउँपालिकाबाट वितरण हुनुपर्ने चेकहरू अन्यत्रबाट बाँडिएको विषयमा समाचार प्रकाशन गरेका कारण पत्रकार यादवमाथि ज्यान मार्ने धम्की सहित दुर्ब्यबहार अत्यन्तै निन्दनीय र आपत्तिजनक रहेको उल्लेख गर्दै महासंघले घटनाको भर्त्सना गर्दै दोषीहरूलाई अविलम्ब कानुनी दायरामा ल्याई कडा कारवाही गर्न माग समेत गरेको छ।

गाउँपालिकासम्बन्धी समाचार लेखेको निहुँमा स्थानीयवासी सन्तोष यादव,पवन यादव र निर्माण व्यवसायी लालविहारी यादवले मादक पदार्थ सेवन गरी यादवमाथि गालीगलौज, दुर्व्यवहार र फोनमार्फत ज्यान मार्ने धम्की दिएको पत्रकार यादवले जानकारी दिए।महासंघले यस्ता आक्रमण कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै सम्पूर्ण सञ्चारकर्मीहरूलाई धैर्य, एकता र प्रेस स्वतन्त्रताका पक्षमा एकजुट हुन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्