मकवानपुरमा अनायासको गजलसङ्ग्रह ‘अनायास’ विषयक विमर्श



मकवानपुर, ४ साउन । गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासको गजलसङ्ग्रह ‘अनायास’ विषयक विमर्श कार्यक्रम मकवानपुरमा सम्पन्न भएको छ।

गजल मञ्च मकवानपुरको २२६ औँ गजल यात्रा अन्तर्गत साहित्य सङ्गम मकवानपुरको हलमा शनिबार आयोजित उक्त कार्यक्रम मञ्चका अध्यक्ष सञ्जित श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा बोल्दै युवा गजलकार विश्वनाथ सञ्जेलले रामकृष्ण अनायासका गजलहरू युवावयका कथाहरूलाई सजीव चित्रण गर्ने र समसामयिक विषयवस्तुमा तीक्ष्ण प्रहार गर्ने खालका रहेको उल्लेख गर्दै प्रशंसा गर्नुभयो। उनले भन्नुभयो, “सङ्ग्रहमा युवावयका कथाहरू सशक्त रूपमा अभिव्यक्त भएका छन्। गजलहरूले बेथितिमाथि गहिरो प्रहार पनि गरेका छन्।”

त्यसैगरी, गजल मञ्च चितवनका पूर्व अध्यक्ष एवं समालोचक रमेश प्रभातले ‘अनायास’ गजलसङ्ग्रहको सफलताको शुभकामना व्यक्त गर्दै नेपाली गजल लेखनको परम्परा र यसको विकासक्रमबारे चर्चा गर्नुभयो।

कार्यक्रमका प्रमुख आकर्षणमध्ये एक रहे, स्वयं रामकृष्ण अनायासद्वारा भर्खर प्रकाशित कृति ‘अनायास’ बाट आधा दर्जन गजलहरूको वाचन। उनका गजलहरू खचाखच भरिएको हलमा गुन्जिँदा ताली र ‘वा वा’ को गुञ्जनले वातावरण उत्साहपूर्ण बनेको थियो।

गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष देवराज तिवारीले शुभकामना मन्तव्यसहित गजल प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष हरि पौडेलले स्वागत मन्तव्य राख्नुभएको यस कार्यक्रमलाई कमल नेपाल र गौरी कँडेलले कुशलतापूर्वक सहजीकरण गर्नुभएको थियो भने गजल मञ्च चितवनका नि वर्तमान अध्यक्ष लेखराम सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्