सुनचाँदी व्यवसायीहरूले आजदेखि नियमित ब्यबसाय सञ्चालन गर्ने
काठमाडौं,२७ असार । विलासी करको विरोधमा आन्दोलन गर्दै आएका देशभरका सुनचाँदी व्यवसायीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेर आजदेखि नियमित ब्यबसाय सञ्चालन गर्ने भएका छन् ।

बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा सरकार र व्यवसायी प्रतिनिधिहरूबीच ६ बुंदे सहमति जुटेपछि उनीहरू आन्दोलन स्थगित गरेर ब्यबसाय सञ्चालन गर्न सहमत भएका हुन् ।अर्थ मन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीको नेतृत्वमा भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग,भन्सार विभाग, नेपाल राष्ट्र बैंक र विभिन्न सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू तथा पूर्वमन्त्रीहरूको समेत उपस्थितिमा भएको सहमति अनुसार, सुनचाँदी तथा रत्न आभुषणको कारोबार र सोमा लाग्ने कर प्रणाली सम्बन्धमा अध्ययन गरी नीतिगत सुधार गर्ने सहमति भएको छ ।
सरकारले गत वर्षबाट १० लाख रूपैयाँभन्दा बढीको सुन खरिदमा २ प्रतिशत विलासी कर लगाएको थियो। आर्थिक ऐन २०८२ बाट भने १० लाखको सीमा पनि हटाएको हो।

