नेताहरुमाथिको कारबाही विधान विपरीत र एकातर्फी रहेको कोइराला पक्षको ठहर
काठमाडौँ,२६ असार । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षधरले पार्टी अनुशासन आयोगले गरेको कारबाही विधान विपरीत र एकातर्फी भएको निष्कर्ष निकालेको छ ।

स्थानीय,प्रदेश तथा संघीय निर्बाचनमा पार्टीका उम्मेदवारहरुलाई हराउन भूमिका खेलेको भन्दै डेढ दर्जन बढी नेताहरुमाथि कारबाही गरेको भोलिपल्ट नेता डा कोइरालाको सम्पर्क कार्यालयमा आज बिहान बसेको सो समूहको बैठकले पार्टी नेतामाथि भएको कारबाही विधान विपरीत र एकतर्फी भएको निष्कर्ष निकालेको हो। बैठकले कारबाही प्रक्रिया अगाडि नबढाउन सभापति शेरबहादुर देउवासमक्ष अनुरोध गर्ने निर्णय गरेको पनि सांसद् राजेन्द्र बजगाईँले जानकारी दिनुभयो ।
बैठकमा उपसभापति धनराज गुरुङले कसैलाई पनि काखापाखा नगरिकन एकढिक्का गरी सशक्त रुपले पार्टीलाई अघि बढाउने काम भइरहेको अवस्थामा अनुशासन आयोगमार्फत एक्कासी कारबाहीको नाम सार्वजनिक गरिएकोमा दुःख व्यक्त गर्नुभयो ।
बैठकमा नेता कोइरालासहित उपसभापति गुरुङ,सहमहामन्त्री जीवन परियार,नेताहरु अर्जुननरसिंह केसी,बलबहादुर केसी,डा मीनेन्द्र रिजाल,अनुशासन समिति सदस्य सञ्जय गौतमलगायतको उपस्थिति थियो ।

