एसइई परीक्षामा एक लाख ६७ हजार ५९७ जना ननग्रेडेड, कसरी हेर्ने नतिजा ?
काठमाडौं,१३ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ ।

भक्तपुरस्थित कार्यालयमा बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णय गरेलगत्तै पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष महाश्रम शर्माले कुल परीक्षार्थीमध्ये एक लाख ६७ हजार ५९७ जना ननग्रेडेड भएको जानकारी दिए । सार्वजनिक गरिएको नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४.० जिपिए ल्याएका छन् । त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना, २.४ जिपिए देखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने ८ जना विद्यार्थी वर्गीकृत भएका छन् ।
१२६ जना परीक्षार्थीको परीक्षा रद्ध गरिएको बोर्डले जनाएको छ । । २०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
नतिजासम्बन्धी विवरणहरू एसएमएस,आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ । एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत हेर्न सकिनेछ ।
यस्तै राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाललगायतको वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
(शीर्षकमा ननग्रेडेड हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ ।)

