कुन प्रदेशले कतिको ल्याए बजेट ?
काठमाडौं,१ असार । विभिन्न प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आईतवार बजेट प्रस्तुत गरेका छन् ।

यसक्रममा कोशी प्रदेश सरकारले ३५ अर्ब ८७करोड ९९ लाख रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको कूल बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख (५२ प्रतिशत) र पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख (४७.७प्रतिशत) विनियोजन गरिएको छ ।
यसैगरी,मधेश प्रदेश सरकारले आगामी ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजार को बजेट ल्याएको छ ।चालुतर्फ १४ अर्ब ७२ करोड र पुँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको छ ।
आजै लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बराबरको बजेट ल्याएका हुन् ।
उता,गण्डकी प्रदेश सरकारले पनि आज २०८२/८३ को लागि ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।बजेटमा चालु खर्च १२ अर्ब ६३ करोड ६६ लाख, पूँजिगत १९ अर्ब ९ करोड ३३ लाख र अन्य खर्चहरू समावेश छन्।
सुदूर पश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट सार्वजनिक गरेको छ । जसमध्ये ५९ दशमलव २५ प्रतिशत अथवा १९ अर्ब ८३ करोड २ लाख ६ हजार रकम पुँजीगततर्फ विनियोजन गरेको छ । यस्तै चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार रकम विनियोजन गरेको छ । यो कुल बजेटको ३० दसमलव ४९ प्रतिशत हो ।
कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा करिब पाँच प्रतिशत बढी हो । कूल विनियोजनमध्ये चालुतर्फ सात अर्ब ७९ करोड ९१ लाख एक हजार रुपैयाँ अर्थात् २३.६४ प्रतिशत रहेको छ । पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रुपैयाँ अर्थात् कूल विनियोजनको ६०.५५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख रुपैयाँ अर्थात् कूल विनियोजनको १.६६ प्रतिशत बजेट छुट्याइएको छ ।

