सोलुदुधकुण्ड नगरपालिकाद्वारा कृषक समूहलाई फापरको बीउ तथा कृषि यान्त्रिक उपकरणहरू वितरण



सोलुखुम्बु,२३ जेठ । सोलुदुधकुण्ड नगरपालिकाले कृषक समूहहरूलाई फापरको बीउ तथा कृषि यान्त्रिक उपकरणहरू वितरण गरेको छ।

नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्य तथा उपप्रमुख गान्धीमाया तामाङको बिशेष आतिथ्यतामा शुक्रबार सम्पन्न कार्यक्रममा वडा नं. १० मा रैथाने बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत फापरको बीउ र कृषि यान्त्रिक उपकरण बितरण गरिएको हो।

फापरको बीउ सोलुदुधकुण्ड नगरपालिकाको सत् प्रतिशत अनुदान र कृषि यान्त्रिक उपकरण ५० प्रतिशत अनुदानमा बितरण गरिएको जनाईएको छ । कृषि यान्त्रिक उपकरणमा ९ वटा हाते ट्र्याक्टर, ६ वटा थ्रेसर मेसिन ६, र ७ वटा कम्बाइन मिल बितरण गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शेर्पाले रैथाने बालीको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता भएको बताउँदै कृषिमा यान्त्रिकरणले मेहनती कृषकको जीवन सहज बनाउनुका साथै उत्पादन लागत घटाएर आम्दानी बढाउने सम्भावना ल्याउने बताउनुभयो।

कार्यक्रमले कृषकहरूमा उत्साह थपेको देखिएको छ र स्थानीयस्तरमै रैथाने बालीको उत्पादन र उपयोग बढाउन तथा कृषि जैबिक बिबिधता संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्