परिवर्तन भयो राजाबादी आन्दोलनको स्वरुप,के छ अबको कार्यक्रम ?
काठमाडौँ,२१ जेठ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुर्नस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आन्दोलनको स्वरुपलाई परिवर्तन गर्ने भएको छ ।

गत जेठ १५ गतेबाट शुरु पहिलो चरणको आन्दोलनको समिक्षा तथा भावी कार्ययोजना तर्जुमा गर्नका लागि काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बुधबार बसेको समितिमा आबद्ध ४५ दल, समूह र अभियानको बैठकले आन्दोलनमा उत्साहजनक सहभागीता रहेको निष्कर्ष निकाल्दै आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको संयोजक नवराज सुवेदीले जानकारी दिएका छन् ।
बैठकपछि संयोजक सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार आन्दोलनलाई अझ सशक्त,प्रभावकारी र उपलब्धीमूलक बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गरिनुका साथै काठमाडौंका अतिरिक्त देशका प्रमुख शहरहरुमा विरोधसभा, धर्ना तथा जनप्रदर्शन गर्ने गरी कार्यक्रम तय गरिएको छ ।
देशका विभिन्न जिल्लाहरुमा आन्दोलनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिसकेपछि आन्दोलनलाई पुनः काठमाडौंमा केन्द्रीत गरिने उल्लेख गर्दै विज्ञप्तिमा आगामी आन्दोलनका कार्यक्रमहरुमा समेत विभिन्न वर्ग, पेशा लगायत निजामती सेना र प्रहरी सेवामा रहेर राष्ट्रको हितमा कार्य गरेका पूर्वराष्ट्र सेवकहरु तथा आम जनतालाई सहभागीताका निम्ति बैठकले अपिल गरिएको छ ।
समितिले जेठ १५ गते दरबारमार्ग, १६ गते माइतीघर बबरमहल क्षेत्र, १७ गते दरबारमार्ग हुँदै बालुवाटार जाने बाटोमा प्रदर्शन, १८ गते नारायणचौर नक्शाल, १९ गते कमलादी गणेशस्थानमा दीप प्रज्वलन र २० गते सिफल चौरमा प्रदर्शन गरेको थियो ।

