अकल्पनीय नारायणहिटी दरबार काण्ड भएको २३ बर्ष पूरा
काठमाडौं,१९ जेठ। तत्कालीन राजा श्री ५ वीरेन्द्र बिरबिक्रम शाहदेव, रानी ऐश्वर्य लगायत राजपरिवारका अन्य सदस्यहरुको षड्यन्त्रमूलक ढंगबाट हत्या भएको आज २३ बर्ष पूरा भएर २४ बर्ष लागेको छ ।

विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा भएको कहालीलाग्दो र अकल्पनीय सो घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन,अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्या भएको थियो।
तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिले तत्कालीन युवराज दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको प्रतिबेदन सार्बजनिक गरेपनि आम नेपालीले त्यसलाई पत्याउन सकेका छैनन्।जनताका बीच लोकप्रिय रहेको नेपाली राजसंस्थालाई कम्जोर बनाउने प्रयास स्वरुप तत्कालीन सरकार र केही राजनीतिक दलसँगको मिलेमतोमा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले यो हत्याकाण्ड गराएको कतिपयको आरोप छ । भारतमा आश्रय लिएर तत्कालीन जनयुद्धको नेतृत्व गरिरहेको नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले बीरेन्द्र बंशनाशमा तत्कालीन अधिराज कुमार ज्ञानेन्द्रको संलग्न रहेको भ्रम एक लेखमार्फत फैलाएका थिए।
हत्याकाण्डपछी जेठ २० गते राजा घोषणा गरिएका तत्कालीन युवराज दिपेन्द्रको मृत्युपछि जेठ २२ गते राजा बन्नुभएका पूर्बराजा ज्ञानेन्द्रलाई हत्याकाण्डमा जोडेर कतिपय राजनीतिक दलका नेताहरुले अझैसम्म पनि आरोपित गरिरहेका छन्।आफू पटकपटक सत्ता र शक्तिमा हुँदासमेत घटनाको छानबिनमा वेवास्ता गर्ने नेताहरुले सो घटनामा पूर्बराजालाई जोडेर भ्रम सिर्जना गर्न खोज्नुले यसलाई थप शंकास्पद बनाएको छ।
सोही घटनाको स्मृतिमा आज योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गरी दिवंगत राजा लगायत राजपरिवारका अन्य सदस्यहरुको स्मरण गर्दै छ ।

