भोलि काठमाडौं उपत्यका बन्द
काठमाडौं,१८ जेठ । प्रदर्शनरत राजसंस्था पुनर्गिस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले जेठ १९ गते सोमवार काठमाडौं उपत्यका बन्दको घोषणा गरेको छ।

समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दैसोमवार उपत्यका बन्द गर्ने निर्णय भएको जनाएका हुन्।‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमार्फत उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसेर सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागीहरूलाई आह्वान गरिएको छ ।आइतवार भएको आन्दोलनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंहलगायत पक्राउ परेका थिए । उनीहरूमाथि प्रहरीले दमन गरेको आरोप राजावादी समूहले लगाएको छ ।
‘शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले जसरी अमानवीय तवरले पक्राउ गर्यो, त्यसको हामी निन्दा गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

