कमल थापापछि राप्रपाका सांसद सिंह पनि प्रहरी नियन्त्रणमा



काठमाडौ,१८ जेठ । संयुक्त जन आन्दोलन समितिको आयोजनामा केही दिन यतादेखी जारी आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका राप्रपाका सांसद दीपक सिंह पनि पक्राउ परेका छन्।

नक्सालस्थित नारायणचौरमा आन्दोलनकारीलाई उक्साउँदै अभिव्यक्ति दिएको आरोपमा थापासहित ७ जनालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ।

केहीबेर अघि काठमाडौँ परिसर पुगेका सिंहलाई प्रहरीले त्यहीँबाट नियन्त्रणमा लिएको हो।’उहाँ (दीपक सिंह)लाई प्रहरीले नियन्त्रणमा लिएको छ’ परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले नेपालखबरलाई जानकारी दिए।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पनि उनलाई प्रहरी परिसरबाटै पक्राउ गरिएको बताए। ‘राप्रपा सांसद माननीय दिपक सिहँलाई प्रहरी परिसरमा काठमाडौँ रहेका कमल थापालाई भेटने परिसर भित्र नै पुग्दा नै पक्राउ गरेको छ। राज्य आतंक बन्द गर’ उनले भनेका छन्।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि यसअघि कमल थापा,शिला राना,राकेश बस्नेत,रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना र डा राजिव झा लाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

राजावादीहरूले जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि गणतन्त्र विरोधी आन्दोलन जारी राखेका छन्। उनीहरूले यो आन्दोलनलाई निर्णायक आन्दोलन पनि भनेका छन्।

प्रतिक्रिया दिनुहोस्