एमालेबाट निर्बाचित बागमती प्रदेशका वडाध्यक्षहरु गोदावरीमा भेला हुँदै
काठमाडौँ,११ जेठ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशका निर्वाचित वडाअध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ११ बजे प्रधानमन्त्री ओलीले भेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । एमाले बागमती प्रदेश कमिटीले निर्वाचित वडाअध्यक्षहरुको भेला बोलाएको हो । ललितपुरको गोदावरी स्थित होटल भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमतीका सबै वडाअध्यक्षहरु सहभागी हुने एमाले प्रदेश कमिटीले जनाएको छ ।
निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रूपमा वडाअध्यक्षहरुसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तह देखि केन्द्र तहसम्म नै रणनीति बनाउने तयारी रहेको छ । बागमती प्रदेश इन्चार्ज डा।राजन भट्टराईका अनुसार पार्टीको सङ्गठन विस्तारका लागि जनताका अपेक्षाहरू सङ्कलन गरेर त्यस अनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाअध्यक्षहरुको भेला बोलाइएको हो । भेलामा बागमतीका १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरु सहभागी हुनेछन् । भेला सोमबार सकिनेछ ।

