पोखरा बिमानस्थल निर्माण : ठेक्का प्रक्रियाबाटै भ्रष्टाचार सुरु भएको सांसदहरुको आरोप



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले निर्माण प्रक्रियामा व्यापक आर्थिक अनियमितता देखिएको बताएका छन् ।

सार्वजनिक लेखा समिति अन्तर्गत गठित उपसमितिको प्रतिवेदनमाथि बुधबार भएको छलफलमा उनले अध्ययनका क्रममा ठेक्का प्रक्रियामै ठूलो हिनामिना भेटिएको दाबी गरे । 

“हाम्रो अध्ययनले देखाएको छ कि निर्माणक्रममा ठूलो आर्थिक अनियमितता भएको छ,” उनले भने, “कतिपयले अध्ययन नगरी स्वार्थका लागि मात्रै कुरा उठाएका छन् । तर हामीले तथ्य, कागजातका आधारमा विश्लेषण गरेका छौँ ।”

छलफलमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा विमानस्थल ठेक्का प्रकरणबाटै भ्रष्टाचार सुरु भएको दाबी गरेका थिए ।

प्रतिवेदनमाथि टिप्पणी गर्दै केसीले भने,‘यसमा कुनै पूर्वाग्रह राखिएको छैन, राख्ने उद्देश्य पनि छैन । तर सुरुदेखिको संलग्नता र प्रारम्भिक तहबाटै गलत काम सुरु भएको  ।’

उनले उड्डयन प्राधिकरणले १४५ मिलियन डलरमा विमानस्थल निर्माणको सम्झौता गरेको भन्दै त्यो भन्दा अघि जाइकाको एउटा रिपोर्टमा पोखरा विमानस्थलबारे २ चरणमा ४० र ४५ मिलियन डलर पुरै एयरपोर्ट बनाउन सकिने उल्लेख गरेको बताए । तर त्यो किन स्वीकार नगरिएकोतर्फ नखोजिएको बताए । त्यसपछि प्राधिकरणले १४५ मिलियन डलरको स्टमेटलगत निकालेको केसीको भनाइ छ ।

‘ जब सरकारको १४५ मिलियन डलर लगत स्टमेट छ, अनि ३०५ को टेण्डर किन स्वीकृत गर्नुपर्‍यो ?’, केसीले प्रश्न गर्दै भने, ‘रिटेण्डर किन गर्न सकेन ? त्यसकारण जहाँबाट यो सुरु भयो त्यहीबाट भ्रष्टाचार सुरु भयो । ’

सांसद तथा पूर्व वनमन्त्री प्रेम आलेले आफू वन तथा वातावरण मन्त्री हुँदा तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पटक-पटक आएर ‘ईआईए फाइनल गर्नुहोस्’ भन्दै दबाब दिएको प्रसंग स्मरण गरेका थिए । “त्यसबेला विमानस्थल निर्माण अन्तिम चरणमा थियो,” उनले भने “म वन मन्त्री थिएँ, अब ईआईए फाइनल नगरी प्लेन उडाउने त ?”सांसद आलेले सिमेन्ट खरिदमै ठूलो भ्रष्टाचार को आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्