२८६९ औं बुद्ध जयन्तीका अवसरमा जापानको गुन्मा प्रान्तमा शान्ति पदयात्रा हुँदै

दावा जाङबु शेर्पा, काठमाडौं,२१ बैशाख।जापानको गुन्मा प्रान्तमा रहेका नेपाली संघ-संस्थाहरूको संयुक्त पहलमा २८६९ औं बुद्ध जयन्तीको अवसरमा पहिलोपटक ऐतिहासिक शान्ति पदयात्रा आयोजना हुने भएको छ ।

‘बुद्ध नेपालमा जन्मनुभएको हो’भन्ने ऐतिहासिक यथार्थलाई जापानी समाजमा सशक्त रूपमा प्रवाह गर्ने उद्देश्यले मे ११ तारिखमा ओता स्टेशनबाट करिब ६ किलोमिटर लामो शान्ति पदयात्रा गरिने आयोजकले जनाएको छ । दिउँसो १:०० बजे सुरू हुने पदयात्रा ओता स्टेसन हुदै निसी कोइजुमीसम्म पुग्नेछ ।आयोजक संस्थाहरुमा शेर्पा संघ जापान,एनआरएनए जापान,तामाङ संघ जापान,तमु धि जापान,मगर संघ जापान,स्याङ्जा समाज जापान, सिन्धुली समाज जापान,नेपाली साझा समाज जापान,शेर्पा संघ किताकान्तो जापान र किरात राई यायोक्खा जापान रहेको बताईएको छ।
आयोजक संस्थाहरूले यो कार्यक्रम नेपाल र नेपालीहरूको सांस्कृतिक पहिचान सुदृढ गर्न तथा विश्व समुदायमा गौतम बुद्धको जन्मभूमि नेपाल रहेको सन्देश फैलाउन महत्वपूर्ण अवसर भएको बताएका छन् । पदयात्रामा नेपाली समुदायको सक्रिय सहभागिताको अपेक्षा गर्दै आयोजकहरूले सम्पूर्ण नेपालीलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक आह्वान गरेका छन् ।
बुद्ध जयन्तीको महत्त्व:
बुद्ध जयन्ती बुद्ध धर्मावलम्बीहरूका लागि मात्र नभई संसारभरका शान्ति, करुणा र मानवतामा विश्वास गर्ने सबैका लागि महत्वपूर्ण पर्व हो। यो दिन सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति (ज्ञान प्राप्ति) र महापरिनिर्वाण; यी तीनवटै महत्वपूर्ण घटनाहरू एकै दिन परेको सम्झनामा मनाइन्छ। बुद्ध जयन्तीले हामीलाई आत्मचिन्तन, अहिंसा, सहिष्णुता र करुणाको बाटोमा अघि बढ्न प्रेरित गर्छ।
आजको समयमा विश्व अनेकौं हिंसा, द्वन्द्व, अन्याय, असमानता र अशान्तिका समस्यासँग जुधिरहेको छ। यस्ता परिस्थितिमा बुद्धका शिक्षाहरू अझ बढी सान्दर्भिक भएका छन्। बुद्धले दिएको चार आर्य सत्य र अष्टाङ्गिक मार्गले जीवनका दुःख र समस्याको समाधान खोज्न दिशानिर्देश दिन्छ। उहाँको शिक्षा अनुसार लोभ, द्वेष र मोहबाट मुक्त भई शुद्ध मन, सहिष्णुता र करुणाको अभ्यास गर्नु नै वास्तविक सुखको बाटो हो।
बुद्ध जयन्तीले समुदायमा धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई संरक्षण गर्न सहयोग पुर्याउँछ। यस अवसरमा पूजा, ध्यान, प्रवचन, शान्ति पदयात्रा जस्ता गतिविधिहरू आयोजना गरेर समाजमा सकारात्मक विचार र मानवीय मूल्यहरूको विस्तार गरिन्छ। यस्ता कार्यक्रमले नयाँ पुस्तालाई बुद्धका शिक्षाहरूको ज्ञान र महत्त्व बुझ्न सघाउँछ, जसले उनीहरूलाई जीवनका कठिनाइ र चुनौतीहरूलाई शान्तिपूर्वक सामना गर्न सक्षम बनाउँछ।
यसरी बुद्ध जयन्ती केवल एउटा धार्मिक पर्व नभई शान्ति, करुणा, सहअस्तित्व र मानवताको सन्देश फैलाउने अवसर पनि हो। सबै धर्म, जात र समुदायलाई समेट्दै यो पर्वले विश्वमा प्रेम र भाइचाराको भावना सुदृढ बनाउने काम गर्दछ। आजको युगमा बुद्धका शिक्षाहरूको महत्व अझ गहिरो हुँदै गइरहेको छ, जसले व्यक्तिलाई मात्र होइन, सम्पूर्ण समाज र मानव सभ्यतालाई नै सकारात्मक परिवर्तनतर्फ डोर्याउन सक्छ।

