प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न माग गर्दै सर्बोच्चमा रिट दायर



काठमाडौँ । काठमाडौँको प्रदर्शनी मार्गमा राजनीतिक प्रदर्शन गर्न नदिन परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

प्रदर्शनी मार्गमा पद्मोदय माध्यमिक विद्यालय, वाल्मीकि विद्यापीठ, रत्‍नराज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस र विश्‍वभाषा क्याम्पस लगायत शिक्षण संस्था र काठमाडौँ मोडल अस्पताल रहेकाले उक्त क्षेत्रमा हुने राजनीतिक प्रदर्शनले पठनपाठनमा र उपचार गर्न आउने बिरामीहरूलाई गम्भीर असर पुगेको तथा पुरानो बसपार्कबाट लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधनहरू पनि छुट्ने गरेको भन्दै कानुनका विद्यार्थी विवेक चौधरीले सो रिट दायर गरेका हुन्।

बेला बेला भएका राजनीतिक प्रदर्शनको दृष्टान्त उल्लेख गर्दै चौधरीले रिटमा त्यस्ता प्रदर्शनले नियमित कक्षा अवरुद्ध हुनुका साथै परीक्षाको तयारीमा समेत नकारात्मक असर परेको, शान्त र एकाग्र वातावरणको अभावले विद्यार्थीको शैक्षिक प्रगतिमा दीर्घकालीन प्रभाव परेको, अस्पतालमा रहेका बिरामीहरू र उनीहरूका आफन्तहरूले असहज परिस्थितिको सामना गर्नु परेको तथा प्रदर्शनका कारण सडक अवरुद्ध हुँदा एम्बुलेन्स जस्ता अत्यावश्यक सेवाका साधनहरू पनि जाममा पर्ने गरेकाले प्रदर्शनी मार्ग र काठमाडौँ उपत्यकाका अन्य कुनै पनि शैक्षिक संस्था तथा अस्पताल नजिक राजनीतिक, गैरराजनीतिक, विरोध प्रदर्शन, साङ्गीतिक, मेला वा अन्य गतिविधि आयोजना गर्न रोक लगाउन परमादेशको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्